नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षक र अहेवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

November 24, 2023

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक र असिस्टेन्ट हेल्थ वर्कर (अहेव) को जागिर खाएको आरोपमा बिहीबार दुई जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

रूपन्देहीको गैडहवा गाउँपालिका–४ स्थित मुक्तिधाम आधारभूत विद्यालयमा प्रावि राहत शिक्षक रहेकी डिलमायाकुमारी कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारको दाबी छ।

नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्त भएकाले आवश्यक कारबाही गरिपाउँ भन्दै उनीविरूद्ध अख्तियारमा उजुरी परेको थियो।

यसबारे छानबिन गर्दा उनले प्रावि राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्तिका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाईस्कूल परीक्षा तहको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारको ठहर छ।

यस्तै नक्कली शैक्षिक प्रमाणपत्र किनेका गुल्मीका एक स्वास्थ्यकर्मी अख्तियारको फन्दामा परेका छन्। भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

झुटा शैक्षिक योग्यता पेश गरेर सेवा प्रवेश गरेको भन्दै अख्तियारले विशेष अदालतमा उनीविरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालले जनाएका छन्।

उनले किनेर ल्याएको शैक्षिक प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापन अन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनौट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापना भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदावी गर्दै मुद्दा दर्ता गरिएको हो।

प्रकाशित मिति:November 24, 2023