उपसचिव प्रधान हाजिरभएको दोस्रोदिनमै पठाए सामाजिक सुरक्षा भत्ता

  Sampatti News Online

November 25, 2023

रौतहट ९ मंसिर। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको मूल गेटको ताला फुटाएर हाजिर भएको दोस्रो दिननै प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सबै वडाका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गरेका छन्।
गत बुधबार कार्यालयमा हाजिर भएका उपसचिव प्रधानले आज शुक्रवार फतुवा विजयपुरको सम्पूर्ण ११ वटै वडाका छौहजार पाँचसय ७६ जना सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गर्न सफल भएका छन्।
उक्त सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बापतको कुल रकम तीन करोड ४१ लाख ५२ हजार ३७० रुपैयाँ उनीहरूको बैंक खातामा दाखिला गरेको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले जानकारी दिएका छन्।
उपसचिव प्रधानले हाजिर भएको दिन मैले भने अनुसार सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गरेको छु, अब नगरसभाको लागि पनि कुरा भइरहेको बताए।
मेयर अम्बेया खातुन लगायत केही जनप्रतिनिधिहरु संग कार्यपालिका बोर्डको बैठक यसै हप्ता राखेर बोर्डको निर्णय अनुसार चाँडै हुनेगरी नगरसभाको दिन तोकिने सहमती भएको उपसचिव प्रधानले जानकारी दिएका छन्।
नेपाली कांग्रस बाहेक सर्वदलीय समितिको प्रयास तथा
कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा गत बुधबार स्थानिय प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिकाको कार्यालयको मूल गेटमा लगाईएको ताला फुटाएर उपसचिव प्रधान लाई हाजिर गराईएको थियो।सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत प्रधानले भोलि देखिनै सम्बन्धितहरुको बैंक खातामा सामाजिक सुरक्षा भत्ता पठाउन सुरुगर्ने र १ महिना भित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गतेनै फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई जिम्मेवारी दिएर पठाएको थियो।
मन्त्रालयको चिठी सहित हाजिर हुन गएका प्रधान नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्षहरुको बिरोधको कारण हाजिर हुनसकेका थिएनन्। प्रधान माथि उनीहरूले बिभिन्न आरोप लगाउँदै कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवनै हुनुपर्ने माग गरेका थिए।
तर कार्यवाहक मेयर अम्बेया खातुनले प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान आएपछि भ्रष्टाचार गर्न कठिन हुने र यादव हुँदा सहज हुने भएकाले मात्र उनीहरूले त्यस्तो आरोप लगाएको बताउँदै आएकी छन्।
मेयर खातुन र केही वडा अध्यक्ष बीच प्रमुख प्रशासकीय अधिकृतकै बिषय लिएर तनाव बढेपछि वडा अध्यक्षहरुले केही कर्मचारी लाई अगाडी सारेर दशैं अगाडिनै नगरपालिकाको कार्यलयमा तालाबन्दी गराएको वडा ६ का अध्यक्ष सञ्जय यादवले बताएका छन्।
मेयर अम्बेया खातुन र केही वडा अध्यक्षहरु बिच तालमेल नमिलेको कारण असार १० गतेभित्र हुनुपर्ने नगरसभा झण्डै ६ महिना बित्नलाग्दा सम्म हुनसकेको छैन। नगरसभा नभएको कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोवार ठप्प भएर झण्डै तीनसय ५० जना शिक्षक कर्मचारीले गत साउन देखि तलब पाउन सकेका छैनन् भने हिन्दूहरूको महान पर्व दशैं तिहार दीपावली छठमा पनि सामाजिक सुरक्षा भत्ता पाउने सकेका थिएनन्।
लालबकैया नदीको टेन्डरमा नेपाली कांग्रेस बाट निर्वाचित तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत आर्थिक वर्षमा नै निलम्बित गरेपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन कार्यवाहक बनेकी छन्।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग टंगालको सिफारिसमा बिशेष अदालतले फतुवा बिजयपुरका तत्कालीन मेयर गोपाल राय यादव लाई लालबकैया नदिको टेण्डरमा दोषी ठहर गर्दै तीनवर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको निर्णय गरेको थियो। लगातार दुई महिना सम्म नगरपालिका बन्द हुँदा नगरपालिका नियमित सञ्चालन गराउन एमालेको पहलमा सर्वदलीय बैठक संघर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। संघर्ष समितिका अध्यक्ष नेकपा एमालेका प्रतिनिधि शिवपुजन यादवको नेतृत्वमा गएको सर्वदलीय टोलीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र समेत बुझाएको एमाले नगर कमिटी सचिव संतोष कुमार साहले बताएका छन्।
मेयर अम्बेया खातुनका श्रीमान तथा कांग्रेसका नेता महमद सेराजले
कांग्रेस पार्टीकै नेता तथा जनप्रतिनिधिले पटकपटक बिभिन्न बखेडा झिकेर नगर सञ्चालनमा अवरोध गर्दै आएको बताएका छन्। अन्य दलका जनप्रतिनिधि तथा नेताहरुले सहयोग गरिरहेको सेराजले जानकारी दिएका छन्। नेताहरुको जुँगाको लडाईमा फतुवा विजयपुरको कर्मचारी र सर्वसाधरण नागरीकले शास्ती खेप्नु परिरहेकाले अनावश्यक रूपमा नगर सञ्चालनमा बाधा अड्चन नगर्न जानकारहरुले आग्रह गरेका छन्।

प्रकाशित मिति:November 25, 2023