सडक विस्तारमा खेत खनेर खाडल बनाउनु गलत हो मेयर साह

  Sampatti News Online

November 26, 2023

रौतहट १० मंसीर। रौतहटको सदरमुकाम गौर नगरपालिकाको मेयर शम्भु साहले कुनै पनि मूल सडक निर्माण हुँदा सडक छेउ किसानको खेतमा खनेर खाल्डो बनाउने काम गलत भएकाले खन्न नहुने बताएका छन्।
गौर चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेन निर्माणको प्रक्रिया अगाडी बढाउन शनिवार गौर नगरपालिकामा भएको दुई पक्षिय छलफल कार्यक्रममा मेयर शम्भु साहले सडक बिस्तार गर्न खाल्डो बनाउनु सरासर अन्याय भएको बताएका हुन।
सडक छेउ किसानको खेतमा खाल्डो खन्ने काम कदापि हुनुहुँदैन, ठेकेदारले बाहिर बाट माटो ल्याई सडक निर्माण हुनुपर्ने उनले अडान राखेका छन्। जनप्रतिनिधि र ठेकेदार लेनदेनको भरमा सहमति गरि सडक वरिपरिको खेतमा जथाभाबी खाल्टो खनेकाले बर्षाको मौसममा पानी जमेर कैयौं बालबालिका डुबेर ज्यान गएको उनले जिकिर गरेका थिए। तथापि त्यस्तो घटना पुनः दोहरीनु भएन,मेयर साहले चारलेन सडक निर्माण गौरको बिपि चोक देखि चन्द्रनिगाहपुरको माथ्लो बजार सम्म साथै बिपि चोक देखि भारतीय सिमानासम्म सडक छेउमा बक्स नाला निर्माण गरिनुपर्ने सुझाव दिएका थिए।
सडकको उचाई घटबढ नभई मध्यम ठिकको हुनेपर्ने सुझाव दिँदै निर्माण कार्यमा गुणस्तरमा कुनै सम्झौता नहुने समेत मेयर साहले स्पष्ट पारेका थिए। ४२ किलोमीटर चारलेन हुने सडकको बिचमा ३ मिटरको डिभाईडर ,दुबै तर्फ ७.५० मिटर सडक ,दुबै तर्फ १.५० मिटर नाला ,बिचबिचमा बृक्षारोपन,वाटर ट्रीटमेन्ट प्लानट, कज्बे(लच्का) निर्माण हुने पर्ने वैठकमा सहमति भएको मेयर साहले बताएका छन् ।
गौर नगरपालिकाको सभाकक्षमा भएको छलफलमा मेयर शम्भु साहका साथै डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दीपेन्द्र पाण्डे, र नगर कार्यापालिका बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति:November 26, 2023