नेप्सेमा सामान्य अंकको गिरावट

  Sampatti News Online

November 28, 2023

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से आज थप २.१७ अंकले घट्दै १८९४.५३ बिन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । १०२ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत्‌ छ ।


आज कारोबार भएकामध्ये बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर ३९४.८० रुपैयाँ पुगेको छ । नारायणी विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक ५।३३ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य २० रुपैयाँले घट्दै ३५५ रुपैयाँ कायम भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ८ करोड ५९ लाख बराबरको कारोबार भएको हो ।   

शेयर लगानकर्ताहरु मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रतिक्षामा देखिएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएका हुन।

राष्ट्र बैंकले यसै साताभित्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। उक्त समीक्षामा शेयर बजारलाई समेत सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ता छन्।

प्रकाशित मिति:November 28, 2023