नदीको टेण्डर आह्वान गर्न र बक्यौता असुलको लागी संघर्ष समिति द्वारा ज्ञापनपत्र 

  Sampatti News Online

December 1, 2023

मंसिर १५ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा लालबकैया नदीको टेण्डर हुनुपर्ने माग गर्दै कांग्रेस बाहेकका सर्वदलिय संघर्ष समितिले  ज्ञापनपत्र बुझाएका छन् । 

संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा विजयपुरकी मेयर अम्बेया खातुन संगै प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई ज्ञापनपत्र बुझाएको हो।

 केही जनप्रतिनिधिका कारण सिंगो नगरपालिका लथालिङ हुनुका साथै  भ्रष्टाचारले चरम सिमा नाघेकाले उक्त अवस्थाबाट मुक्तगर्न भन्दै संघर्ष समितिले बिजयपुरमा शान्तिपूर्ण प्रदर्शन संगै ज्ञापनपत्र बुझाएको संयोजक यादवले बताएका छन्।

सुकुम्बासी परिचयपत्रका लागि आवेदन दिन  दिएको समयमा  नगरपालिकामा  तालाबन्दीका रहेकाले सयौं भूमिहिन सुकुम्बासीहरु आवेदन दिनबाट बञ्चित  हुँदा आवेदनका लागी पुनः १५ दिन समय दिनुपर्ने माग गरिएको छ। त्यस्तै लालबकैया नदिको ठेक्का बन्दोबस्त गरी सर्वसाधारणलाई सहज रुपमा नदिबाट गिट्टि, बालुवा र ढुङ्गा अविलम्व उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।  लालबकैया नदिको ठेक्का पट्टा वापत उठन बाँकी रहेको तत्कालिन ठेकेदार हाल प्रदेश सांसद नागेन्द्र साहसंग ९९ लाख र अर्का ठेकेदार मीनबहादुर भण्डारीसंग ८८ लाख रुपैयाँ असुल उपर गरी नगरपालिकाको खातामा दाखिला गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षमा लालबकैयामा नदिजन्य पद्धार्थको उत्खन्नमा डोजरको प्रयोग निषेध गर्नुपर्ने तथा ढुवानीमा  ट्रिपरको सट्टा त्याकाटर लगाउनुपर्ने माग गरिएको  छ । 

 नदिमा अनाधिकृत रुपमा दिनानुदिन डोजरको प्रयोग गर्दा नदि गहिरो भई कटानको जोखिम बढ्ने र पुलहरु समेत जोखिममा पर्नेभएको हुँदा त्यस्तो खतराबाट नदिलाई जोगाउन डोजर, ट्रिपरमाथी प्रतिबन्ध लगाई  उत्खन्नमा मानवको प्रयोग गर्न  माग गरिएको छ।

संघर्ष समितिले पहिलो दिनको आन्दोलन स्वरुप पालिकामा ज्ञापनपत्र बुझाउँदै विजयपुर बजारभरी परिकर्मा गर्दै सो बजारमा कोणसभा गरेको थियो । नगरपालिकाले आफुहरुको माग सम्बोधन नगरे यो भन्दा पनि कडा आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ । प्रमुख प्रशासकीय उपसचिव सुरेन्द्र प्रधानले अहिले तत्काल नगरसभाको लागि तयारी हुँदै छ, नगरसभा पछि प्रक्रिया मिलाएर नदीको टेण्डर लगायत कामको पहल गर्ने बताएका छन्।

नगरको हरेक काम तथा गतिविधिमाथी निगरानी एवं खबरदारी गर्ने उद्देश्यले केही दिन अघि एमालेका शिवपुजन यादवको अध्यक्षतामा नेकपा एमाले,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगाएत दल सम्मिलित संघर्ष समिति गठन गरिएको थियो। फतुवा बिजयपुरमा लालबकैया नदिकै टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर गर्दै अख्तियारको सिफारिसमा बिशेष अदालतले तीनवर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेको थियो। मेयर यादवको पद धरापमा परेसंगै नगरपालिकाको अवस्थामा लथालिङ्ग बनेको थियो। कांग्रेस बाहेकका गठित संघर्ष समितिको पहलमा झण्डै दुई महिना पछि अघिल्लो सातादेखि नगरपालिका सञ्चालनमा आएको छ। सञ्जय मिश्रा 

प्रकाशित मिति:December 1, 2023