कर्जा लिएपछि तिर्नुपर्छ: गभर्नर

  Sampatti News Online

December 1, 2023

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने समयमा नै आफ्नो क्षमता हेर्न आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिकोत्समा वोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्।

पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको अवस्थामा गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह गरेका हुन्।

गभर्नर अधिकारीले बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न समेत भनेका छन्। गत वर्ष मात्रै बैंकहरुले लिएको बढी ब्याज फिर्ता गराएको बताउँदै कुनै पनि बैंकले बढी ब्याज लिएको भए केन्द्रीय बैंकले फिर्ता गराउने उनले बताए।

गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरु भेट्दै १६/१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।

बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् ।आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए ।

प्रकाशित मिति:December 1, 2023