नेप्सेमा सामान्य अंकको गिरावट

  Sampatti News Online

December 4, 2023

काठमाडौं । गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको छ।

त्यस्तै, आज एक अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२२ कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ ।      

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो।

प्रकाशित मिति:December 4, 2023