December 5, 2023
काठमाडौं । मलेसियाको लगानी कम्पनी आजियाटाले एनसेलको शेयर बिक्री गरेको प्रकरणले संसदमा प्रवेश पाएको छ । सार्वजनिक लेखा समितिको प्रवेशले अब एनसेल प्रकरण थप विवादमा तानिएको छ । एनसेल शेयर खरिदबिक्रीबारे छलफल गर्न बुधबार (भोलि) दिउँसो २ बजे प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।
समितिको सचिवालयले भोलिको बैठकमा शेयर बिक्रीबारे प्रारम्भिक छलफल हुने जानकारी दिएको छ । आजियाटाले गत साता एनसेलमा रहेको आफ्नो शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा बेचेको जनाएको थियो । एनसेलमा २० प्रतिशत शेयर हिस्सा राखेका गैरआवासीय नेपाली सतीशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले आजियाटाको शेयर किनेको जनाएको हो ।
यसरी शेयर बिक्री हुँदा नेपालको कानूनी प्रकृया पालना र कर छली भए/नभएकोबारे संसदीय समितिले छलफल गर्ने बताइएको छ । प्रारम्भिक छलफल पछि एक उपसमिति बनाएर एनसेल शेयर किनबेच प्रकरण छानबिन गर्ने पनि लेखा समितिको तयारी छ ।
आजियाटाले एनसेलमा रहेको स्वामित्व बेचेको खबर बाहिरिए लगत्तै लेखा समितिले नियामक निकाय दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र आन्तरिक राजस्व विभागसँग सोधखोज गरेको थियो । समितिले ती निकायमा एनसेलको शेयर बिक्रीबारे ९ वटा प्रश्न पठाएको छ । मलेसियाली कम्पनी अजियाटा युकेले वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो ।
त्यतिखेर नेपालको दूरसञ्चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो । नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।
पछिल्लो शेयर बिक्रीमा पनि पहिलेकै परिमाणमा लाभकर छली भएको हुनसक्ने आशंका छ ।
प्रकाशित मिति:December 5, 2023
November 24, 2024