नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  Sampatti News Online

December 6, 2023

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनका दुई न्यायाधीशबीच राय बाझिएको छ । पुर्पक्षका लागि थुनामा रहेको बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो । 

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो । 

मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यसैगरी लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति:December 6, 2023