हिमालयन रि–इन्स्योरेन्सले मङ्सिर २७ गतेदेखि आईपीओ जारी गर्ने

  Sampatti News Online

December 10, 2023

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा मंसिर २७ गते आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्य सहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते बैंकिङ समयपछि हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रकाशित मिति:December 10, 2023