देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यकः ओली

  Sampatti News Online

December 11, 2023

काठमाडौँ । सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढङ्गले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको जिकिर गरेका छन् ।

उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्न एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए । उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको बताए ।

उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभएर बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए । उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आग्रह गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भयो । एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडकलगायतका विकासमा काम गरेको सबैलाई थाहै छ’, ओलीले भने ।

उनले भने, ‘सरकारमा भएको बेलामा दुनियाँले रोक्दारोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ कि अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन । एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने पार्टी चक्नाचुर हुन्छ भने तर त्यो उनीहरूको सपना थियो । एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ । अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन । यस लोकप्रिय र देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभइ देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन ।’

प्रकाशित मिति:December 11, 2023