२ हजार बिन्दुमाथि उक्लिएर झर्यो नेप्से, बीमा समूह सुस्तायो

  Sampatti News Online

December 13, 2023

काठमाडौं– बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ६ अंकले बढेर १ हजार ९८८ दशमलव ०४ बिन्दुमा बजार बन्द भएको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर कारोबार भएको छ। मंगलबार ४ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम घटेको छ।

पछिल्लो समय लगानीकर्ताको आकर्षण रहेको इन्स्योरेन्स क्षेत्र भने बुधबार सुस्ताएको छ। बुधबार जीवन र निर्जीवन बीमा दुबै उपसमूहको सूचक घटेको छ। इन्स्योरेन्स कम्पनीहरुमा प्रोफिट बुकिङ्गले पनि बजारमा बिक्री चाप केहि बढेको हो।

यस दिन जीवन बीमा उपसमूहको सूचक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.३१ प्रतिशतले घटेको छ। यस्तै व्यापार र होटल उपसमूहको सूचक पनि नकारात्मक छन्। बुधबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.१५ प्रतिशतले बढेको छ। बुधबार बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मोलुङ हाइड्रोपावरको ९.९८ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९.९६ प्रतिशत र मानुषी लघुवित्तको ९.७८ प्रतिशतले बढेको छ।

यता कुथली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.६९ प्रतिशतले घटेको छ भने सुपर माई हाइड्रोपावरको ५.०१ प्रतिशत, सानिमा पिआइसि इन्स्योरेन्सको ४.४७ प्रतिशत र इमर्जीङ नेपालको ४.२० प्रतिशतले घटेको छ। बुधबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १४ करोड ६७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्टको १२ करोड ६६ लाख र अरुण काबेली हाइड्रोपावरको १२ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

आज १३ मध्ये ९ उपसमूहको सेयरमूल्य बढेको छ भने होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र वित्त उपसमूहको सेयर ओरालो लागेको छ।

प्रकाशित मिति:December 13, 2023