पीडितलेनै भ्रम फैलाई बदनाम गर्न खोज्यो माण्डवी अध्यक्ष: झा

  Sampatti News Online

December 18, 2023

रौतहट २ पुस। मानवीय सेवामा समर्पित गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झाले रौतहटका केही अग्नि पीडितले झुठा भ्रम फैलाएर आफूलाई बदनाम गर्न खोजेको गुनासो गरेकी छन्।
स्थानिय माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका केही अग्नि पीडितहरुले आफु र सिंगो माण्डवी संस्थालाई बदनाम गर्न झुठा भ्रमको खेतीमा लागिरहेको अध्यक्ष झाले गुनासो गरेकी हुन्।
आगलागीबाट पूर्ण रुपमा घर जलेर पालमुनी बसिरहेको पीडितलाई घर बनाउन सहयोग गरिरहँदा केही कुतत्वको ईसारामा पीडितहरुलेनै षड्यन्त्र गरेको अध्यक्ष झाले बताएकी छन्।
केही दिन अघि अग्नि पीडितहरुले केही मिडियामा माण्डवीले घर बनाउने जिम्मा लिएपनि घरको जग्ग मात्र खडा गरी अधुरै छाडेर फरार भएकाले आफुहरुको विजोग भएको बताएका थिए।
माण्डवीकी अध्यक्ष झाले आईतवार मधेश दृष्टि संग कुरा गर्दै पीडितहरुले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएकी छन् ।
एनसेट नामक संस्थाको सहकार्यमा माण्डवीले २०७९ साल चैत्र २६ गते विशुनपूर्वा मानपुरका १७ जना अग्नि पीडितलाई तत्कालको लागि आवश्यक पर्ने अवास व्यवस्थापनाका लागि राहतस्वरुप तिन किसतामा गरी १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने समझौता गरेको थियो।
तत्कालको लागि कम्तीमा छानाको घरमा बसोस भन्ने उद्देश्यले एक, एक कोठा भएको घर निर्माण गर्न हामी तयार भएपनि पीडितहरुले हामी आफै घर बनाउँछौ बरु तपाईहरु हामीलाई १ लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस भनेको अध्यक्ष अन्जु झाले बताईन।
पीडितको आग्रहमा आफुहरुले १७ जना पीडितहरुलाई प्रति व्यक्ति १ लाख ५० हजारको दरले बैंकमार्फत भुक्तानी गरिदिएको उनले स्पष्ट पारिन्। संस्थाले कसैको घर बनाउने जिम्मा नलिएको भएपनि उनीहरुले आफुहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवीमाथी गलत आरोप लगाई संस्थालाई बदनाम गर्न खोजेको झाले दाबी गरेकी छन्।माण्डवीमाथी लगाएको आरोप गलत, झूठा, भ्रामक र कपोकल्पित रहेकोले विश्वास नगर्न उनले सबैलाई आग्रह गरिन । यसरी सहयोगी संस्थाको नै बदनाम गराउने खेल भएपछि पीडित भनिएका १७ जनाको घर भने अधुरो रहेको देखिएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:December 18, 2023