शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकम ११ महिना यताकै उच्च

  Sampatti News Online

December 18, 2023

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ३८.१४५ अंकले बढेर दुई हजार ६० दशमलब ४९ विन्दुमा बन्द भएको हो ।                        

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सोमबार कारोबार भएकामध्ये १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भनदा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

आज कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

प्रकाशित मिति:December 18, 2023