बालुवा उत्खननले हुलाकीको पुल भासिने जोखिममा

  Susan Bhattarai

December 20, 2023

रौतहट ४ पुस। रौतहटको दक्षिणीभेग राजापुर नगरक्षेत्र अन्तर्गत फतुवा स्थित लालबकैया नदीको पुल संग टाँसिएर बालुवा उत्खनन गर्दा पुल भासिने जोखिम बढ्दै गएको छ।
पुलको दक्षिण तर्फ बाट मात्र ५० मीटर भित्रै केही समय देखि उत्खनन गरेर अनियन्त्रीत रुपमा बालुवा ढुवानी गरिरहेको कारण पुल भासिने जोखिम बढेको छ।
पूर्व पश्चिम हुलाकी राजमार्गमा पर्ने उक्त नदीको पुलको दक्षिण तर्फ टाढै बाट बालुवा लिकाल्न खनिएको ठूलो ठूलो खाडल देखेर अनुमान गर्न सकिन्छ।
जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति रामबशिष्ठ यादवले कुनै पनि नदीको पुलको कम्तीमा आठसय मिटर टाढा मात्र उत्खनन गरेर नदीजन्य पदार्थ निकाल्न सकिने बताएका छन्।
मापदण्ड भन्दा नजिकमा उत्खनन गरेर नदीजन्य पदार्थ लिकालेर खाडल बनाएमा नजिकमा रहेको पुल कुनै बेला भासिन सकिने अर्थात पुल भासिएर ठूलो दुर्घटना हुनसक्ने पूर्व उपसभापति यादवले चेतावनी दिएका छन्।
फतुवा स्थित लालबकैया नदीको उक्त पुल छेउबाट अनियन्त्रीत रुपमा उत्खनन गरी बालुवा निकालेर ठूलो ठूलो खाडल बनाउँदा रोक्ने अथवा नियन्त्रण गर्ने कुनै निकायले हालसम्म चासो लिएको देखिएको छैन।
संघीयता पछि सरकारी सम्पती अथवा कुनै पनि भौतिक संरचनाको रेखदेख गर्नुपर्ने जिम्मा स्थानिय तहले लिनुपर्दछ।
तर करोडौं पुल भासिने जोखिम बढीरहँदा त्यसको संरक्षण गर्न हालसम्म राजापुर नगरपालिकाले चासो देखाएका छैनन् भने पुल संगै रहेको सशस्त्र बेस क्याम्प फतुवाको पनि ध्यान जानसकेको छैन।
त्यतिमात्र नभई हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुलको संरक्षण गर्न हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएका ईन्जिनियर लगायतको समेत ध्यान गएको देखिएन। सञ्जय मिश्र

प्रकाशित मिति:December 20, 2023