सफाईकर्मीहरू कांग्रेसको प्रदेश सम्मेलनमा, बजारभरी फोहर

  Sampatti News Online

December 21, 2023

रौतहट ५ पुस। नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज प्रदेशको राजधानी जनकपुरमा हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन यहाँका सफाईकर्मीहरु जनकपुर गएपछि रौतहटको चर्चित बजार कटहरिया बजारभरिनै फोहर थुप्रिएको छ।
आज बिहानै देखि बजार सफाईमा लागेका सफाईकर्मीलाई कांग्रेस कार्यकर्ताहरूले बलपूर्वक बसमा बसाएर जनकपुर लागेपछि बजारमा फोहर थुप्रिएको स्थानिय कपडा ब्यापारी तथा एमालेका मेयर प्रत्याशी योगेन्द्र साहले बताएका छन्। कटहरिया बजारको मूल सडकको दर्जन बढी स्थानमा अहिले फोहर थुप्रिएको मेयर प्रत्याशी साहले जानकारी दिएका छन्। यसरी सफाईकर्मिको काम रोकेर पार्टीको कार्यक्रममा लैजानु गलत रहेको उनको ठहर छ। कटहरिया नगरपालिकामा कांग्रेस पार्टीकै मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादव निर्वाचित भएका छन्। जनकपुरमा हुने कार्यक्रममा उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।
सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत रहेको छ । प्रदेश सभापती कृष्ण प्रसाद यादवले सम्मेलनको तयारी बारे बुधवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए। सञ्जय मिश्रा

प्रकाशित मिति:December 21, 2023