सशस्त्रद्वारा २८ लाखबढीको अबैध कपडाबरामद, तस्कर फरार

  Sampatti News Online

December 22, 2023

रौतहट ६ पुस। रौतहटको छुट्टाछुट्टै दुई स्थान बाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय कपड़ा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा त्यत्रो ठूलो परिमाणको कपडा भित्रयाउने तस्कर भने पक्राउ पर्न सकेका छैनन्।
सशस्त्र प्रहरीको टोलीले बिहीवार चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एउटा घरबाट १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र सुरक्षा बेस मटीऔँन सन्तपुर र जिल्ला भन्सार कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीआईजी, सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका थिए। त्यस्तै दुईदिन अघि सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख बढीको अबैध लत्ताकपडाहरु बरामद गरेको थियो।
विशेष सूचनाको आधारमा गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सीमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा वेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको एस्पी माधव रेग्मीले बताएका थिए।
बरामद लत्ताकपडाहरु राजश्व अनुसन्धान कार्यालय पथलैया र जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सार्वजनिक गरेको थियो।
तस्करहरुको समूहले भारतीय बजार बाट रातिराती ठूलो परिमाणमा अबैध रुपमा भित्रयाएको कपडा लुकाई छिपाई रौतहटको बिभिन्न स्थानमा राख्ने गर्दछन। पछि आफ्नो सुबिधा अनुसार जिल्लाको बिभिन्न बजारमा पुर्याउने गर्द छन्।
यसरी बौधिमाई र चन्द्रपुरमा त्यत्रो ठूलो परिमाणको कपडा अबैध भण्डारण बारे सशस्त्र प्रहरीले सूचना सुराकी पाएर कपडा बरामद गर्छन् तर तस्कर बारे जानकारी नहुनु अथवा जानीजानी भगाएको भन्नेमा स्थानीयहरूले शंका गरिरहेका छन्।
पछिल्लो समय रौतहटमा भारतीय कपडा मात्र नभई किराना, कस्मेटिक्स , हार्डवेयर, लगायत अनेकौं किसिमका सामानको तस्करी बढेको छ। तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रायः असफल भएका छन्।

प्रकाशित मिति:December 22, 2023