लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आजै

  Sampatti News Online

December 24, 2023

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली काँग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन् । माओवादी केन्द्रबाट कृष्णा केसी र काँग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् ।

शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो ।

केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गएको वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको थिएन ।

दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय वन तथा वातावरण मुख्यमन्त्री आफैँले राख्नुहुनेछ । 

प्रकाशित मिति:December 24, 2023