उच्च अदालतमा स्वचालित पेशी व्यवस्थापन सुरु

Nepal Cover
८ पुष २०८०, आईतवार
image

काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन् । ‘यो एउटा सुखद क्षण हो,’ अब भनसुन, आग्रह गरेर पेशी तारेख तय नहुने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता त दिन्छ नै, यसप्रति सबैको विश्वास सबैले अपनाउँछन् ।’

प्रधानन्यायाधीश श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो।

सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेसी प्रणाली सुरु गरेको थियो। यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ।

यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ । स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।