काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउनु भएको छ । सो यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउँदै अध्यक्ष ओलीले अनेक खालका गलत भाष्यलाई उक्त यात्राले चिर्ने काम गरेको समेत बताउनु भयो ।
ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन्। ‘सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने,’ ओलीले भने, ‘युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ।’ उनले पार्टीका सभामा पनि युवाहरूको उपस्थिति ४० प्रतिशत मात्रै देखिएको बताए। ‘हाम्रा सभाहरूमा पनि युवाहरूको संख्या ४० प्रतिशत हो कि जस्तो। युवाहरू कमै देखिने,’ उनले भने।
उनले मध्यपहाडमा विकास, बाटो, खानेपानी पनि पुर्याइए पनि बसाइँसराइ भइरहेको बताए। मध्यपहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अफ्ठ्यारोमा पर्ने बताए। ‘बसाइँ सर्दै जाने, त्यहाँको कारोबार कम हुँदै जाने हो भने देशको भविष्य अफ्ठ्यारोमा पर्ने देखिन्छ,’ उनले भने।
तथापि, मानिसहरू आशावादी रहेको उनले बताए। कृषिको आधुनिकरण र व्यवसायिकता कसरी गर्न सक्ने भन्ने छलफल गरिएको जानकारी दिए। ओलीले नेपालको विकासमा छिमेकीले अवरोध गर्नु दुखद् भएको पनि बताए।
‘हाम्रो विकास हामीले निर्वाध ढंगले गर्न पाउनुपर्छ। कालो बिरालोले होस् कि सेतो बिरालोले होस् विकास गर्नुपर्छ,’ ओलीले भने। ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने पनि बताए। तर, प्राथमिकता र आवश्यकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
‘भारतले सहयोग गरोस् कि चीनले गरोस्। अमेरिकाले गरोस् कि राम्ररी नेपाललाई हित हुने, नेपालका प्राथमिकता, आवश्यकता,’ उनले भने, ‘जसले बढी ऋण लिन्छ त्यो दिने। जसले बढी अनुदान दिन्छ त्यो लिने।’
ओलीले छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर हेर्न नहुने बताए। ‘छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर पहिले नै डराउनुहुँदैन। सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो,’ ओलीले भने।