अदालतको आदेश पछि यमुनामाईमा यादव, दुर्गा भगवतीमा ठाकुर हाजिर

  Sampatti News Online

December 25, 2023

रौतहट ९ पुस। प्रहरीको सुरक्षाको बीचमा स्थानिय यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतवार हाजिर भएका छन् । उता दुर्गा भगवती गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आईतवार परमानन्द ठाकुर हाजिर भएका हुन्।
पुनरावेदन अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा झण्डै दुईसाता पछि प्रमुख प्रशासकिय अधिकृतको रुपमा यादव हाजिर भएका हुन्।
गत मङ्सिर २२ गतेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाईको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको ठाउँमा ओम प्रकाश यादवलाइ जिम्मेवारी दिएको थियो। मन्त्रालयको पत्र सहित हाजिर हुनगएका यादवलाई गाउँपालिका अध्यक्ष मोहम्मद सऊदले हाजिर नगराउने भन्दै मन्त्रालयको नाउँमा पत्र दिएर यादव लाई फिर्ता पठाएपछि उनी उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा लिखित उजूरी दिएका थिए। आईतवार कार्यालयमा हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्षका समर्थकले कार्यालयका मुख्य गेटमा बसेर अवरोध गरेका थिए ।
३ नम्बर वड़ाका वड़ा अध्यक्ष शेख सगीर , वड़ा नम्बर २ का वड़ा अध्यक्ष सीताराम यादव र वड़ा अध्यक्ष नन्दलाल यादवका समर्थकले प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन नदिने पक्षमा उभिएर विरोध प्रदर्शन गरेका थिए ।
उता वड़ा अध्यक्ष अश्विनी राय यादवका पक्षले सुरक्षाकर्मीको सहारामा यादवलाई हाजिर गराएका हुन् ।
हाजिर हुने क्रममा दुवै पक्षका समर्थक विच हल्का धक्कामुक्की समेत भएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । यसरी पालिका भित्र जनप्रतिनिधि र कर्मचारी बिभाजन गरि तामझाम साथ प्रशासकिय अधिकृत हाजिर भएको दृश्यले पकै पनि जनमानसमा नराम्रो सन्देश गएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिरहेको कारण यमुनामाई गाँउपालिका जस्तै अन्य दुई पालिकाको जनप्रतिनिधि बिच बिवाद उत्पन्न भएको छ। प्रमुख प्रशासकीय अधिकृतकै विषय लिएर बृन्दाबन नगरपालिका र फतुवा विजापुर नगरपालिकामा जनप्रतिनिधि विच लामो समय देखि बिबाद देखिएको छ। यसैबीच दुर्गा भगवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा परमानन्द पाठक हाजिर भएको छ ।
ठाकुर लाई पालिका प्रमुख शम्भु सिंहले स्वागत तथा सम्मान गर्दै प्रमुखको रुपमा हाजिर गराएका हुन्।

प्रकाशित मिति:December 25, 2023