विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाए पछि सुन छानबिन टोलीको गुनासो

  Sampatti News Online

December 25, 2023

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टिभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेपनि पक्राउ परेका थिए । लगत्तै यसको छानबिनका लागि भन्सारका प्रमुख प्रशासक टोकराज पाण्डेले पौडेल नेतृत्वको समिति गठन गरेका थिए ।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टिभी फुजेट पनि मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, १४ किलो सुन दूबईबाट अंकित अग्रवाल नामक व्यक्तिले मिनबहादुरलाई पठाएका थिए । यसरी मिनबहादुर घले, चन्द्र घले र कृष्णकुमरा श्रेष्ठले पटकपटक दूबईबाट सुन लिएर आउने गरेको देखिएको उनी बताउँछन् । त्यसपछि विमानस्थलको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन ल्याएर बाहिर ल्याउने गरेको पाइएको छ ।

भन्सारका अनुसार, विमानस्थलबाट सुन बाहिर निकाल्न विमानस्थलमा कार्यरत् नागरिक उड्ययान कार्यालयका एसपी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश पाएर करारमा कार्यरत् रमेश देउला, एसी शाखामा कार्यरत् सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत संलग्न थिए ।

भरियाले ल्याएको सुन बाहिर निकालेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पु¥याउने गरेको देखिने अधिकृतहरु बताउँछन् । त्यसपछि मिनबहादुर र उनका साथी जीवन गुरुङ उक्त सुनलाई अंकित अग्रवालले भनेको स्थानमा लगिदिने गरेको अनुुसन्धानका क्रममा खुलेको छ । टोलीले यसरी पटक-पटक गरेर यो गिरोहले जम्मा १३८ केजी सुन ल्याएको निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति:December 25, 2023