गाउँ रित्तिने अवस्थाको समाधान खोजाैः राष्ट्रपति

  Sampatti News Online

December 26, 2023

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरे । 

“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ । उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए । “यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ”, उनले भने ।

प्रकाशित मिति:December 26, 2023