चुनाव हारेपछि कटहरियामा लाखौंको कौडा जुवा

प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार

  Sampatti News Online

December 27, 2023


रौतहट ११ पुस। संघीयता संगै गाउँ गाउँमा सिंह दरवार पुगेपछि चुनाव जितेका जनप्रतिनिधिहरु बजेट चलाएर कमाउने कुरा निर्विवाद नै छ। तर चुनाव हारेपछि कौडा जुवा खेलाएर भएपनि पैसा कमाउने सुन्दा अविश्वास लाग्न सक्छ तर यो यथार्थ हो, किनकी याे सब कुरा रौतहटको कटहरियामा भइरहेकाे छ।
यहाँ झण्डै एकदशक देखि बन्द रहेको कौडा जुवा पछिल्लो एकसाता देखि पुनः सुरु भएको छ। स्थानिय कटहरिया बजार भन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा दैनिक लाखौंको कौडा जुवा सुरु भएको हो। स्थानिय एकजना मेयर प्रत्याशिले प्रहरी देखि पत्रकार सम्म मिलाएर आफ्नो मानिसको रेखदेखमा जुवा खेलाई रहेको प्रत्यक्षदर्शिले बताएका छन्।

केहीदिन अघि बालाचतुर्दशीको अवसरमा जंगलसहियामा लागेको मेलामा उनले लुकिछिपी कौडा जुवा खेलाएका थिए। तीनदिन सम्म मेलामा कौडा जुवा खेलाउँदा स्थानिय प्रहरी प्रशासन तथा जनप्रतिनिधिले बिरोध नगरेपछि उनी नियमित जुवा खेलाउन पल्केका हुन। कटहरिया स्थित केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकी सम्म कौडा जुवा भइरहेको छ। त्यहाँ जुवा खेल्न सर्लाही, देखि रौतहट र बारासम्मका नामुद जुवाडेहरु आउनेगरेको प्रत्यक्षदर्शीले बताएका छन्।

जुवा खेल्न आउने जुवाडेको लागि बजार बाट खसीको कटियाको मासु देखि बियर तथा बिभिन्न प्रकारको मदिरा जुवाखालमै ब्यवस्था मिलाएको हुन्छ। त्यहाँ हुने कौडा जुवा बाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागी जुवाडेले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्। यसरी जुवा संरक्षणको नाउँमा दैनिक २५ हजार भन्दा बढि रुपैयाँ उठाइन्छ भने कौडा जुवा कतिको हुन्छ आफै अनुमान गर्न सकिन्छ।

कौडा जुवा खेलाउने मेयर प्रत्याशिले जुवा खेलाउन जिल्ला प्रहरी कार्यालय रौतहट देखि सशस्त्रका एस्पी नजिकका नेपाल प्रहरी र सशस्त्र प्रहरीका उनिटहरु समेत मिलाएर मासिक रूपमा पैसा दिनेगरेको बताउँदै आएका छन्। यसरी एकसाता देखि त्यहाँ लाखौं लाखको दैनिक कौडा जुवा हुँदा पनि प्रहरी प्रशासन देखि जनप्रतिनिधि समेत कसैले पनि बिरोध गरेका छैनन्।
तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको सशस्त्र द्वन्दको समय उनले गाँउ गाँउमा मेला लगाएर कौडा जुवा खेलाउँदै आएका थिए। जुवा खेल्ने क्रममा उनी एकपटक पक्राउ परेर झण्डै दुईसाता जिल्ला प्रहरी रौतहटको हिरासतमा रहेका छन्। स्थानियतहको पहिलो निर्वाचनमा सहभागी भएपछि उनले जुवा खेल्ने खेलाउने काम बन्द गरेका थिए। तर गत स्थानियतहको निर्वाचनमा उनी पराजित भएपछि हाल जुवा तस्करी लगायत अबैधकामको लागि प्रहरीलाई मिलाउने अर्थात बिचौलियाको काम गर्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एस्पी महेन्द्र कुमार श्रेष्ठले सम्पूर्ण आरोपको खण्डन गर्दै कौडा जुवा नियन्त्रण गर्ने प्रतवद्धता जनाएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी जनक भट्टराईले कटहरियामा कौडा जुवा बारे गम्भीरता साथ हेरेर नियन्त्रण गर्ने तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी रौतहटलाई कडा निर्देशन दिएको बताएका छन्। यसरी एकजना मेयरको चुनाव लडेका मानिस जुवा खेलाएर पैसा कमाउन आफ्नो नैतिकता बेचिरहेका छन्। त्यतिमात्र नभएर उनले मीटर व्याजी देखि अदालत वकिलको दलाली समेत गरिरहेका छन्। यस्ता नैतिक पतन भएका मानिस कुनै सार्वजनिक पद धारण अथवा चुनाव कसरी लडने आफैमा एउटा प्रश्न खडा भएको छ । सञ्जय मिश्रा

प्रकाशित मिति:December 27, 2023