बिबादास्पद तीन श्रीमान न्याय परिषदको छानबिनमा

  Sampatti News Online

December 27, 2023

काठमाडौं । तीन जना न्यायाधीशको न्याय सम्पादनमा कैफियत देखिएपछि आनन्द मोहन भट्टराईको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।

प्रारम्भिक छानबिनमा कैफियत देखिएपछि न्यायपरिषदमा तानिएका अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालाबारे थप अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।

समितिमा प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य छन् । छानबिनबारे आजै राजपत्रमा प्रकाशित गरिने भएको छ । न्यायाधीश अम्बिका निरौलाले बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादीलाई सफाई एवं मिटरब्याजी गणेश उप्रेतीलाई सफाइ दिएको फैसलामा कैफियत देखिएको थियो ।

त्यस्तै २०७६ कात्तिक ६ गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । न्यायाधीश भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो ।

यस्तै राजकुमार कोइरालाको इच्छाराज तामाङ प्रकरणमा वकिलसँग पैसा लेनदेनको अडियो सार्वजनिक भएको थियो । सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइरालासँग डिल गरेको अडियो बाहिरिएको थियो ।

प्रकाशित मिति:December 27, 2023