देशमा अन्तरिम सरकारको बिकल्प छैन पूर्वमन्त्री : प्रभु साह

Nepal Cover
१५ पुष २०८०, आईतवार
image

रौतहट १५ पुस। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई संकटबाट निकास दिन अन्तरिम सरकार गठनको बिकल्प नभएको बताएका छन्।
गृह नगर रौतहटको मौलापुरमा आम जनता पार्टीको भात्री संगठन आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री साहले उक्त विचार राखेका हुन्।
बर्तमान संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प छैन ,अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकाले तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने उनले माग गरेका छन्।
अन्तरिम सरकार गठनमा कुनै तत्व बाधक भएमा देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले यस विषयमा सबै देशभक्त युवाहरुलाई गम्भीर हुन आग्रह गरेका थिए।
अध्यक्ष साहले नेपाल सेनाको विकल्पमा आफ्नै आईटी आर्मी सेना त्यार गर्ने बताउँदै विदेश बस्दै आएको नेताका छोरा छोरीको सम्पति, पुजीँपतिको सम्पति माथी झण्डा गाड्ने योजना रहेको बताए।
आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमले भ्रष्टाचारको विरूद्ध शशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने छ। कार्यक्रममा पार्टी उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
आईटी आर्मीको प्रशिक्षण कार्यक्रम आगामी ५ दिनसम्म चल्ने बताईएको छ। उदघाटन सत्रमा हजारौं मानिसको सहभागिता रहेको थियो।