१८ लाखबढी नक्कली नोटसहित यादव पक्राउ, जालो तोड्दै प्रहरी

  Sampatti News Online

January 5, 2024

रौतहट २० पुस। रौतहट स्थित प्रहरी प्रहरीले १८ लाख बढी नक्कली नेपाली नोट सहित एकजना लाई पक्राउ गरेको छ भने प्रहरीको सक्रियता बढेसँगै नेपाली नक्कली नोट कारोवारको जालो तोडिदै गएको छ। गत साउन यता प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न ८ जनालाई पक्राउ गर्न सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी १८ लाख भन्दा बढि नेपाली नक्कली नोट सहित एकजना मानिसलाई सार्वजनिक गरेको छ। नक्कली नोट सहित पक्राउ परेका गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो। यादवको साथ बाट नेपाली १ हजार दरको १८ सय ४३ थान १८ लाख ४३ हजार नक्कली नोट बरामद भएको एस्पी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। गोप्य सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथ बाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम,१६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाईल एकथान बरामद भएको जनाइएको छ
अभियुक्त यादव नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको निगरानीमा बुधबार पक्राउ गरिएको एस्पी श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन्।
उनीमाथि कानुन अनुसार मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।
यस अघि नक्कली नोटको कारोवारमा संलग्न गरुडा नगरपालिका ५ का मंगल दासको छोरा बर्ष ४० को बिरेन्द्र दास,गणेश साहको छोरा बर्ष २२ को राम पृत साह,कटहरिया नगरपालिका ९ का बर्ष २१ को अनिला साह , सर्लाही त्रिभुवन गाउँपालिका ४ का रेवी दासको छोरा बर्ष १९ को दिपक दास, लाई प्रहरीले पक्राउ गरेको थियो।
गरुडा नगरपालिका ५ शिवनगर मेलामा डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट भारतिय एक सय दरको ४ थान चार सय नक्कली नोट बरामद भएको थियो।
त्यस्तै परोहा नगरपालिका २ बस्ने मंगर साह तेलीको छोरा वर्ष ५८ को बच्चेलाल साह,गढीमाई नगरपालिका ४ सुन्दरपुर टोलका पुरन साह कानुको छोरा वर्ष ४९ को सोभालाल साह,मौलापुर नगरपालिका ७ टोल पिपरिया बस्ने जयलाल साह कानुको छोरा वर्ष ४१ को बिहारीलाल साह कानु लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
गत कार्तिक १० गते दिउसो गरूडा बजार स्थित नेपाल राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा उनीहरु खातामा रकम जम्मा गर्न ल्याएको नेपाली १ लाख ५० हजार मध्येका एक लाख भएको गड्डीबाट १हजार को दरको ७ थान जम्मा ७ हजार नक्कली नोट बरामद भएको थियो।
त्यस्तै भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला ढाका थाना, सखहलिया १ वस्ने सुरेन्द्र ठाकुर पक्राउ परेका छन्।
गत मंसिर ३० चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक स्थित सुन्तला खरिद गर्दा नक्कली नेपाली एक हजार पसलमा दिने क्रममा संका लागि पसलेले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले उनको शरिर खानतलासी गर्दा एक हजार दरको नक्कली नोट – २० थान बिस हजार बरामद गरेको थियो।
अभियुक्तहरु माथि कानुन अनुसार मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:January 5, 2024