दुईपक्षीय सहमति पछि अवरुद्ध गौर चन्द्रपुर सडक खुल्यो

  Sampatti News

January 5, 2024

रौतहट, २० पुस । सडक विभाग र स्थानीय बीच सहमती पछि दुईदिन देखि अवरुद्ध गौर चन्द्रिगाहपुर सडकखण्ड सुचारु भएको छ।
सडक विभागले भोली देखि वागमती नदीमा पुल निर्माण सुचारु गराउने प्रतिबद्धता संगै गौर चन्द्रपुर सडक खण्डको बम नहरमा अवरुद्ध सडक शुक्रवार दिउसो १ बजेबाट सुचारु भएको हो । प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा बुधवार दिउसो १ बजे देखि दुर्गा भगवती, यमुनामाई, राजपुरका स्थानीयहरू गौर चन्द्रपुर सडक खण्डको बम नहरको बाटो अवरुद्ध पारेर धर्नामा बसेका थिए।
सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा बिहीवार बसेको बैठकमा नेपाल सरकारको मन्त्रीपरिषदले अविलम्ब उक्त समस्या समाधान गर्न निर्देशन दिएको थियो।
सडक विभागका महानिर्देशक ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा निर्णय गरेको थियो।
निर्णयमा वागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टींग स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि सुरु गरेर ७ दिन भित्र सम्पन्न गर्ने, पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्धारा अविलम्ब सुरुआत गर्ने, पुलको रिभ्युड डिजाइन ड्रोइंग अविलम्व स्वीकृतिको लागि सडक विभागमा पेश गर्ने सहमती भएको थियो।
त्यस्तै रिभर ट्रइंग पूर्वपटिको कार्य स्पेशिफिकेशन अनुसार करेक्सन गर्ने तथा पश्चिमपटीको काम अविलम्ब सुरुआत गरी निर्माण कार्यलाई निरन्तरता दिने, विओक्यु अनुसार सव सट्रक्चर को स्ट्रेृजस्टींग को कार्य तत्कालै सुरुआत गर्ने बैठकमा सहमती भएको थियो।
गत बुधबार देखि १५ दिन भित्र साइटमा निर्माण कार्य नभएमा तथा साइट मा मोविलाइज नभएमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने ६ बुंदे निर्णय भएको सडक बिभाग द्वारा प्राप्त पत्रमा उल्लेख गरिएको छ।
आज भएको दुईपक्षीय छलफलको क्रममा विभागको आधिकारिक निर्णयलाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणीभुषण साहले वाचन गरेर सुनाएका थिए।
उक्त अवसरमा प्रदेश सांसद तथा कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव , प्रदेश सांसद नागेन्द्र साह,रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा,दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह, श्रीराम यादव, लगायत धर्नामा बसेका सैयौं मानिसको उपस्थिती रहेको थियो।
धर्नाको नेतृत्व गरेका नेताहरुले ४८ घण्टा देखि निरन्तर चिसोमा सडकमै बसेर धर्ना दिइरहेका स्थानिय लाई धन्यबाद दिएका छन्।
सडक विभागको निर्णय अनुसार पुलको निर्माण कार्य नभई अटेरी भएमा अब कडा संघर्षमा उत्रिने समेत नेताहरुले चेतावनी दिएका थिए।

प्रकाशित मिति:January 5, 2024