नेप्सेमा दोहोरो अंकको वृद्धि, विकास बैंकहरुमा लगानीकर्ताको आकर्षण

  Sampatti News Online

January 9, 2024

मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु विकास बैंकहरुतर्फ आकर्षित भएको देखिएका छन्। यस दिन विकास बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै सो उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ। आज नेप्से २०.६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको १ लाख ४ हजार पटकको कारोबारमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर सांगे हाइड्रोपावर, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन निफ्राको साढे १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको कारोबार रकम साढे १७ करोड नाघेको छ।

प्रकाशित मिति:January 9, 2024