कटहरियामा तालाबन्दी पछि जनप्रतिनिधि उत्रे खबरदारीमा 

  Sampatti News Online

January 9, 2024

रौतहट २४ पुस। मेयर अजयप्रकाश जैसवाल माथि भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेका जनप्रतिनिधिहरु खबरदारीमा उत्रेका छन्।

उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले सोमवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका जनप्रतिनिधिहरु मंगलवार बिहानै देखि कार्यालयको प्राङ्गणमा बसेर खबरदारी सुरु गरेका हुन्।

खबरदारी टोलीमा उपमेयर यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, वडा प्रत्याशी हरेन्द्र यादव रहेका छन्।

जनप्रतिनिधि तथा पार्टी प्रतिनिधि कार्यालय समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म नगरपालिकाको प्राङ्गणमा बसेका थिए। उक्त खबरदारीको क्रममा उनीहरुले सञ्चारकर्मी लाई सम्बोधन गर्दै यो कुनै पार्टीको लड़ाई नभई नगर बचाऔं अभियान भएकाले सहयोग गर्न सम्पूर्ण नागरिक तथा कर्मचारी लाई आग्रह गरेका थिए।

आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए।

जनप्रतिनिधिले तालाबन्दी गरेको बावजूद नगरपालिकाका अधिकांश कर्मचारी कार्यालय बाहिरै बसेर समय गुजारेका थिए।

करोडौ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग सहित उपमेयर रिता देवी यादव सहितका जनप्रतिनिधिले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका छ।

निर्वाचित भएदेखिनै जनप्रतिनिधिहरु लाई झुक्याएर हस्ताक्षर गराई करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिभिन्न ८ बुन्दे माग गर्दै उपमेयर यादव सहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो।

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९१ ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

नगरपालिकाको स्वास्थ, जिनसी, प्रशासन बाहेक मेयर समेतको कार्यकक्षमा तालाबन्दी पछि उपमेयर रिता देवी यादव लगायत जनप्रतिनिधिले तालाबन्दीको कारण बारे बताएका थिए।

मेयर अजयप्रकाश जैसवालले करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजा लगायत बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरिरहेको आरोप लगाएका थिए। गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त बिषय बारे जानकारी माग्दा मेयर जैसवालले आज २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। १८ गतेको सूचना अनुसार आज भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको उपमेयर यादवले बताईन। एकातर्फ मेयर अधिकृत बैठकमा सहभागी नहुनु र अर्को तर्फ मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले मेयरको नियत ठीक नरहेको उपमेयर यादवले बताईन। एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको उपमेयर यादवाका साथै जनप्रतिनिधिहरुले बताएका छन्।

मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन। सोमवार नगरपालिकामा तालाबन्दी पछि मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह मंगलवार कार्यालयमा अनुपस्थित देखिएका छन्। सञ्जय मिश्रा 

प्रकाशित मिति:January 9, 2024