केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, डा. विशद दाहालको निलम्बन फिर्ता

Nepal Cover
२५ पुष २०८०, बुधबार
image


काठमाडौं। डाक्टर दाहालमाथि केएमसीको प्रतिशोध आवासीय चिकित्सक विशद दाहालमाथि नियमविपरित लगाएको निलम्बन फिर्ता लिन केएमसी अस्पताल सहमत भएको छ।

बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोलीसँगको वार्तापछि अस्पताल प्रशासन निलम्बन फिर्ता लिन सहमत भएको डा. दाहालले सम्पत्ती न्युजलाई जानकारी दिए।

काठमाडौं विश्वविद्यालयको रोहबरमा छलफल गर्‍यौं। अस्पताल प्रशासन निलम्बन फिर्ता लिन तयार भएको छ, हस्ताक्षर गर्न बाँकी छ, दाहालले भने।

मंगलबार शिक्षा मन्त्रालयले दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयमार्फत केएमसीलाई निर्देशन दिएपछि आज बालकुमारीस्थित केयूको कार्यालयमा छलफल भएको थियो।

छलफलमा आन्दोलनरत आवासीय चिकित्सकको टोली र अस्पतालबीच निलम्बन फिर्ता लिने, कार्यविधि बनेपछि मात्र हेल्थ क्याम्प सञ्चालन गर्ने र त्यतिञ्जेललाई न्यून संख्यामा मात्र आवासीय चिकित्सकलाई क्याम्पमा खटाउने सहमति भएको छ।

डा. दाहाल दुई सातादेखि अस्पतालले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै आन्दोलनरत थिए। आफूले पाठ्यक्रममै नभएको हेल्थ क्याम्पमा अस्पतालले मनोमानी ढंगबाट आवासीय चिकित्सकलाई प्रयोग गरेको विषय उठाउँदा अस्पतालले प्रतिशोध साध्न गैरकानुनी रूपले निलम्बन गरेको दाहालको भनाइ थियो।
अब भने हेल्थ क्याम्पको कार्यविधि बनेपछि मात्र अस्पतालले आवासीय चिकित्सकलाई क्याम्पमा खटाउन पाउने सहमति भएको दाहालले जनाए। त्यसका लागि एक महिनाभित्र कार्यविधि तयार पार्न काठमाडौं विश्वविद्यालयका डिन मनोज हुमागाईंले जिम्मा लिएको उनले बताए।