आइपिओ निष्कासन गर्दै बन्दीपुर केबलकार

  Sampatti News Online

January 11, 2024

काठमाडौं। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (प्रथामिक सेयर) जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

कम्पनीले शनिबार (पुस २८) साधारण सभा बोलाएको छ।

सो साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रूपमा कम्पनीको आइपिओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरी औपचारिक रूपमा अगाडि बढ्ने गरी तयारी गरेको कम्पनी सचिव रमनमान श्रेष्ठले बताए।

कम्पनीले १०० रूपैयाँ अंकित दरका ३० करोड ६० लाख रूपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ।

जुन कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशत हो। यस अन्तर्गत २ प्रतिशत स्थानीयलाई र २ प्रतिशत प्रवासी नेपाली, म्युचुअल फण्ड, कम्पनीको कर्मचारीहरूको लागि छुटाएको सचिवले श्रेष्ठले बताए।

यस परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ। यो परियोजना दक्षिण एसियाकै मौलिक परियोजना भएको कम्पनीको दाबी छ।

परियोजनाको लागत ३ अर्ब ५८ करोड रूपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको छ।

परियोजनाअन्तर्गत हाल बन्दीपुरमा केबलकार र पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा छन्। साथै परियोजनाले आगामी दिनमा बन्दीपुरमै स्काइ वाकसहितको बन्जी पनि सञ्चालनमा ल्याउने बताएको छ।

प्रकाशित मिति:January 11, 2024