मत्स्य अनुसन्धानमा सहकार्य गर्न नार्क र यूएसडीएका प्रतिनिधि सहमत

  Sampatti News Online

January 12, 2024

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र संयुक्त राज्य अमेरिकाको कृषि विभाग (यूएसडीए) का प्रतिनिधिका बीचमा मत्स्य अनुसन्धानका विविध बिषयमा सहकार्य गर्ने बारेमा छलफल भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा भएको छलफलमा दुबै पक्षका बीचमा मत्स्य अनुसन्धानका विविध बिषयलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउँने भन्ने बारेमा छलफल भएको छ ।

सो छलफलमा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले मत्स्य अनुसन्धानमा नार्कले गरेको प्रगति र थप अनुसन्धान गर्नुपर्ने बिषयका बारेमा जानकारी गराएका थिए । उनले नेपालमा पहाडी र उच्च पहाडी भेगमा चिसो पानीमा गरिने अनुसन्धानका लागि छुट्टाछुट्टै अनुसन्धान केन्द्रहरु रहेको तर गर्मी ठाउँमा मत्स्य अनुसन्धानको छुटै कार्यालय नरहेको हुँदा हाल कपिलवस्तुको बाणगंगामा नयाँ मत्स्य अनुसन्धान केन्द्रको स्थापनाका लागि काम भइरहेको बताए । उनले गर्मी र चिसो दुबै वातावरणमा मत्स्य अनुसन्धानमा सहकार्य गर्न नार्क तयार रहेको पनि बताए ।

यूएसडीएको तर्फबाट जोना ब्राउनले नेपालमा मत्स्य अनुसन्धान तथा विकासमा सहकार्य गर्न चाहेको र सहकार्यका बिषयहरु छलफलको चरणमा रहेको बताइन् । उनले नेपालमा माछा उत्पादन र खपतको प्रचुर सम्भावनालाई विचार गरी एक परियोजना मार्फत् सहकार्य अगाडी बढाउँन चाहेको बताइन् । उनले अनुसन्धानको प्रतिफललाई विस्तार गर्न निजी र सरकारी क्षेत्रको सहकार्यमा जोड दिइन् ।

लुथर्न वल्र्ड रिलिफका चिफ अफ पार्टी डा. मनजुरुल करिमले मत्स्य अनुसन्धानबाट प्राप्त नतिजालाई देशका अन्य क्षेत्रमा विस्तार गर्न नार्कसंगै सहकार्य गरी अगाडी बढनुपर्ने आवश्यक्ता औल्याए ।

सहभागिहरुले धान खेतमा माछापालनको सम्भाव्यता बारेमा पनि छलफल गरेका थिए । नार्कका पूर्व कार्यकारी निर्देशक डा।टेकबहादुर गुरुङ्गले नेपाल माछा उत्पादनका लागि उपयुक्त ठाउँ भएको र विगतमा रेन्बो ट्राउट, टिलापिया जस्ता विशेष वातावरण चाहिने माछाहरुमा पनि सफलताका साथ अनुसन्धान गरी प्रविधि विकास भएको बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा।कालिकाप्रसाद उपाध्यायका अनुसार छलफलमा नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा.दोजराज खनाल, लुथन वल्र्ड रिलिफका प्रतिनिधि नारायण ज्ञवाली, राष्ट्रिय किट विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा।अजय श्रीरत्न बज्राचार्य, राष्ट्रिय विउविजन अनुसन्धान केन्द्रका प्रमुख डा.पल्लवी सिंह, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णहरी घिमिरे, बैज्ञानिकद्धय समय गैरे, किशोर भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:January 12, 2024