क्याम्पसको भवनमा व्यापक आर्थिक अनियमितता 

बन्याे गाईगोठ र कबाडखाना

  Sampatti News Online

January 14, 2024

वीरगन्ज । वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवनमा व्यापक आर्थिक अनियमितता भएको क्याम्पस प्रमुखले नै आरोप लगाएका छन्। 

पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका किशोरी रायले वीरगन्ज-३ आदर्शटोलस्थित ८ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माणमा यसअघिका क्याम्पस प्रमुख डा.भगवान यादवले आर्थिक अनियमितता गरेको आरोप लगाएका हुन्।

२०७६ सालमा सन्तोष निर्माण सेवाले ठेक्का पाएर निर्माण गरेको भवनको आधाभन्दा बढी काम अधुरै रहेको भए पनि पूर्वक्याम्पस प्रमुख यादवले सम्बन्धित निर्माण कम्पनिलाई दुई वर्षअघि नै सम्झौतामा उल्लेख सबै रकम भुक्तानी गरिसकेको भेटिएको बताए। आइतबार पत्रकार सम्मेलन नै गरेर निमित्त क्याम्पस प्रमुख रायले २ करोड ७४ लाख रुपैयाँमा निर्माण गरिएको नयाँ भवनमा अनिमियतता भएको आरोप लगाए।

यसबारेमा क्याम्पसका लेखा प्रमुख विनोद यादवसँग सोध्दा उनले पनि सबै रकम ठेकेदारलाई भुक्तानी गरिसकेको मौखिक जवाफ दिएको रायले जानकारी दिए। रायले भने,‘ठेकेदारलाई सबै रकम भुक्तानी गरिसकिएको रहेछ। तर भवनको काम आधा भन्दा बढी अधुरै छ। पर्खाल उठाएर ढलान मात्र भएको छ। न प्लाष्टर भएको छ न रंगरोगन गरिएको छ। ढोका र झयालको पल्ला पनि हालिएको छैन। वायरिङको काम पनि गरिएको छैन।’ 

क्याम्पस प्रमुखको जिम्मेदवारी पाएपछि आफूले नयाँ भवनमा कक्षा सञ्चालनका लागि आएर हेर्दा भवनको काम अधुरै रहेको देखेपछि भवन निर्माणबारे सोधीखोजी गर्दा भवन निर्माण बापतको पूरा रकम ठेकेदारलाई भुक्तानी गरिसकेको पत्ता लागेको रायले बताए। रायले भने,‘एक त आधा भन्दा बढी काम अधुरै छ। त्यसमा पनि ढलानको बीमहरू बाङ्‍गिएको अवस्थामा छ। यो संरचनाले पाँच तला थेग्न सक्ने अवस्था नै नरहेको प्राविधिकले पनि बताएका छन्।’

निर्माण कम्पनीसँग क्याम्पसले गरेको सम्झौतामा ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा रंगरोगनसहित भवन निर्माणको काम सबै सकाएर मात्र क्याम्पसलाई भवन हस्तान्तरण गर्ने र भुक्तानी गर्ने उल्लेख रहेको रायले बताए। ठेकेदारलाई क्याम्पसले गरेको भुक्तानी सहितको अडिट रिपोर्ट आफूले लेखा प्रमुख यादवसँग माग्दा उनले नदिएको गुनासो पनि रायले सुनाए। रायले भने,‘आव २०७४/०७५ देखि आव २०७९/०८० सम्मको बैंक स्टेटमेन्टसहितको अडिट रिपोर्ट मैले लेखा प्रमुखसँग माग गरे। तर उनले पूर्वक्याम्पस प्रमुखलाई सबै कागजात दिइसकेकाले सबै उहाँसँग नै छ। मसँग केही छैन भनेर अटेरी गरेका छन्।’

लेखा प्रमुख यादवले अबको दुई तीनभित्र ती कागजात उपलब्ध नगराए उनलाई निलम्बन गर्ने चेतावनीसमेत रायले दिए। हरिखेतान क्याम्पसको अधूरो नवनिर्मित उक्त भवनमा अहिले स्थानीयले गाईगोठका रुपमा प्रयोग गरेका छन्। आइतबार बिहान उक्त भवनमा पुग्दा भवनभित्रको बरण्डालाई गाईगोठका रुपमा प्रयोग गरेको अवस्थामा भेटिएको हो।

बरण्डा छेउको कोठामा गाई बाँधेर राखिएको छ भने बरन्डा परिसर गाईको गोबर र पिसाबले भरिएको छ। भवनका अन्य कोठाहरूमा बजारबाट संकलन गरिएका कबाड भण्डारण गरिएको छ। भवन छेउमा घर भएका एक स्थानीय वृद्धले भने,‘हुन त यो कलेजको भवन हो तर लावारिस अवस्थामा छ। सोधीखोजी गर्ने कोही नहुँदा छरछिमेककाले गाईगोठ बनाएका छन्। एक कबाड व्यापारीले एक वर्षदेखि कवाडी सामानहरू ल्याएर यसैमा जम्मा गरेर राखेका छन्। 

प्रकाशित मिति:January 14, 2024