विमल पोद्दारसहित १७ विरुद्ध मुद्दा दर्ता

  Sampatti News Online

January 23, 2024

काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको छ ।आइतबार जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये रुपेशसहित पाँचजना पक्राउ परेका छन् ।

काठमाडौंको बागबजारका रुपेश श्रेष्ठ नेतृत्वको गिरोहमा उनका परिवारका अन्य सदस्यको समेत संलग्नता रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।

रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दिपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । रपेशका अर्का भान्जा आयुष श्रेष्ठको समेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन । उनीहरूमध्ये दिपेश र अंशुल अमेरिकामा बसेर नेपालमा हुन्डी र क्रिप्टो कारोबारमा संलग्न रहेको दाबी गरिएको छ । 

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको सीआईबीका अधिकृतहरुले बताएका थिए ।

६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर हुँदासम्म रुपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ ।

यो प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् ।

यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।

प्रकाशित मिति:January 23, 2024