नेप्सेमा गिरावट कायमै परिसूचकसंगै कारोबार रकम पनि घट्यो

  Sampatti News Online

January 24, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेपछि शेयर बजार सुस्ताउन थालको छ। नेप्से परिसूचक पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ। त्यससँगै पछिल्लो समय भोल्यूम पनि दैनिक घट्दो क्रममा रहेको छ। आज नेप्से १०.२५ अंकले घटेर दुई हजार ८८ दशमलव ०४ विन्दुमा बन्द भएको हो ।                                       

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये ८० वटाको बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा चन्द्रगिरी हिल्स लिमिटेड र मिडसोलु हाइड्रोपावर लिमिटेड रहेको छ । 

त्यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।      

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

  

प्रकाशित मिति:January 24, 2024