आजपाद्वारा आव्हान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव

२१ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

  Sampatti News Online

January 25, 2024

रौतहट ११ माघ। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको रौतहटमा आंशिक प्रभाव परेको छ।

बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको 

बन्द लाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु सदरमुकाम गौर लगायत बिभिन्न स्थानमा आज बिहानै देखि टायार बालेर प्रदर्शन गरेका छन।

जिल्ला सदरमुकाम गौर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिगतको तुलनामा कम चलेको छ। पसल ब्यापारिक प्रतिष्ठानहरु पूर्ववत चलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। जिल्लाको मुख्य बजार गरुडा कटहरियामा पनि साना ठूला पसलहरु सञ्चालनमा रहेको छ। कटहरियाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको छैन। कटहरिया बाट आज बिहान एउटा टाटासुमो काठमाडौंको लागि खुलेको छ भने नारायणघात, हेटौंडा, बिरगंज जाने बसहरू नचलेको काउन्टर ईन्चार्ज बसरुदिन अन्सारीले बताएका छन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा बिगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडकखण्डमा पनि चल्ने गाडीको संख्या कम देखिएको छ।

यसैबीच मधेश बन्द सफल पार्न बिहानै रौतहटको सदरमुकाम गौर , शुकदेव चौक, चन्द्रपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका २१ जना आजपा कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकि छन। गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन। बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरुले बुधवार साँझ गौर, गरुडा, चन्द्रनिगापुरमा मसाल जुलुस प्रर्दशन गरेका थिए। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि बिभिन्न खाले आन्दोलन गर्दै आएको छ । सञ्जय मिश्रा

प्रकाशित मिति:January 25, 2024