सुन तस्करकाे अनुसन्धान प्रभावकारी भएनः गिरी

  Sampatti News Online

January 29, 2024

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् । केही उच्च अधिकारी र सत्तारूढ दलका केही नेताका परिवारका सदस्यहरू समेत मुछिएको उक्त प्रकरणमा अहिलेसम्म कैयौँ व्यक्तिसँग बयान लिइसकिएको र दुई दर्जन जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियाे।

तर सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए ।

जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन नसक्ने भन्दै गिरीले भने, ‘यो काण्डमा जोडिएका सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्छ ।’ सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।

आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ । साथै तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

यसअघि सुन तस्करीसँग सम्बन्धित कुनै सूचना वा कागजात कसैसँग भए उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरेको आयोगले आइतबार दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगसँगको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक गिरीसहित नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ, माओवादी केन्द्रकी सचेतक रुपा शोसी चौधरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

सो छलफलमा बोल्दै एमाले प्रमुख सचेतक गिरीले ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ किलो मात्र भयो भनेर प्रश्न गरे । उनले भने, ‘भेटिएको भनिएको ब्रेक सुको तौल ९५० ग्राम छ । एउटा ब्रेक सुमा ५५० ग्राम सुन भएको देखिन्छ । अरु बाँकी ४०० ग्राम ब्रेक सु नै हो । यसो गर्दा सुन सहितको ब्रेक सुको जम्मा तौल १५४ केजी भनिएको छ । तर ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ केजी सुन कायम भयो ? हुनुपर्ने ११० केजी थियो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ब्रेक सु सहितको सुन लोड गरिएको ट्याक्सी राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको विषयमा पनि उनले प्रश्न गरेका थिए । त्यो ट्याक्सीलाई गोदामसम्म पुग्न दिएर समातेको भए अझै धेरै कुराहरु खुल्न सक्ने भन्दै उनले ट्याक्सी चालकलाई नियन्त्रणमा नलिएर तारेखमा छोडिएको र सुन गाल्ने गरिएको गोदाममा तीन दिनपछि मात्र खानतलासी गर्नुले धेरै शंका उब्जिएको बताए ।

प्रकाशित मिति:January 29, 2024