खत्याडमा आगलागीबाट एक घर जलेर नष्ट, दुई बालक मृत्यु

  Sampatti News Online

February 5, 2024

मुगु । गएराति मुगुकाे खत्याडस्थित एक घरमा आगलागी हुँदा एकै घरका दुईजना बालकाे ज्यान गएका छन् । जिल्लाको पश्चिम खत्याड गाउँपालिका– २ गाडेखोला गाउँस्थित लालु माठागाईको घरमा आगलागी हुँदा दुईजना सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ खरानी भएको प्रहरीले जनाएको  छ ।  आगोमा जलेर स्थानीय लालु सञ्जयालकी  १२ वर्षीया छोरी झरना र  १४ वर्षीय छोरा विशालको ज्यान गएको हो। 

बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। लगत्तै विशालकी आमा सरस्वति र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग  गुहार माग्न थालिन्। विशाल बहिनी बचाउन घरभित्र पसे।  सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन्। उनी बहिनीसँगै आगोमा जलेर खरानी भए। विशाल ७ कक्षामा  र  झरना  ४ कक्षामा स्थानीय जनजागरण मावि सेरीमा पढ्दै थिए। घरमा आमा र दुईजना बालबालिका मात्रै थिए। 

मृतक बालबालिकाका बाबु लालु सञ्जयाल मजदुरी गर्न भारत छन् । आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालको घरमा समेत क्षति पुगेको छ।

मृतकका आफन्त बिष्णुराज दाहालले झ्यालबाट विशालले बचाइदिनका लागि गुहार मागेको भएपनि बचाउन नसकेको दुखेसो पोखे। झ्याल फोड्नका लागि चाहिने औजार तत्काल नभेटिदा उनीहरूलाई बचाउन नसकिएको उनको भनाइ छ। घरभित्रै बालेको आगोबाटै आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विरेन्द्र थापाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । आगलागीबाट चार गाईगोरु पनि जलेर मरेका छन् ।

प्रकाशित मिति:February 5, 2024