प्रहरीलाई स्वतन्त्र रहन दिनुपर्छ: ओली

  Sampatti News Online

February 5, 2024

जनकपुर । एमाले अध्यक्ष केपी ओलीले राजनीतिज्ञले प्रहरीलाई स्वतन्त्र रहन दिनुपर्छ बताएका छन् । सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । 

प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका वेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए ।  ‘पुलिस त छँदै छ, कसले चलाउने भन्ने कुरामा विवाद हो ।

राजनीतिज्ञले प्रहरी चलाएर धेरै बिग्रिएको छ । नेताहरूले प्रहरी आफ्नै अधीनमा हुनुपर्छ भन्नु गलत हो,’ उनले भने, ‘सरकारको ध्यान जनतालाई सेवा दिने कुरामा हुनुपर्छ । प्रहरी कसले चलाउने भन्नेमा होइन ।’ 

मुख्यमन्त्रीहरूले प्रदेशमातहत प्रहरी नहुँदा शान्ति सुरक्षालगायतका काममा असर परेको भन्दै प्रदेशकै प्रभावकारितामाथि प्रश्न उठेको भन्दै निरन्तर संघ सरकारलाई दबाब दिँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समायोजनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका वेला प्रमुख प्रतिपक्षी दलका नेताको यस्तो धारणा आएको हो । 

प्रकाशित मिति:February 5, 2024