हेटौंडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरू

  Sampatti News Online

February 6, 2024

हेटौँडा। कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो ।

कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिनुभयो । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको जानकारी दिनुभयो । 

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले घाटा पूर्ति गर्न र उद्योगलाई नाफामा लान नसकिने अवस्था रहेको उहाँको भनाइ छ । नयाँ मेसिन जडान नगरेसम्म सधैँ उद्योग बन्द र खुल्ने क्रम चलिरहने उद्योगका पाण्डेले बताउनुभयो । 

दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामो समय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दात छ । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिक रुपमा उत्पादन सुरुवात गरेको थियो । 

प्रकाशित मिति:February 6, 2024