नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार रकम पनि खुम्चियो

  Sampatti News Online

March 3, 2024

काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज (आइतबार) पूँजीबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक ११.७८ अंकले घटेको छ। दोहोरो अंकको गिरावटसँगै नेप्से सूचक १९६०.३० बिन्दुमा रोकिएको छ।

आज भएको कारोबारमा जम्मा ६७ कम्पनीका शेयरधनीले कमाएका छन्‌। १७३ कम्पनीका लगानीकर्ता घाटामा गएका छन्‌। ८ कम्पनीको शेयरमूल्य स्थिर छ। घटेको बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सर्वाधिक कमाएका छन्‌। सो कम्पनीको शेयरमूल्यमा ९.७० प्रतिशतले वृद्धि भएको हो। प्रतिकित्ता शेयरमूल्य ८४० रुपैयाँ पुगेको छ।

अत्यधिक गुमाउनेमा चिर्ख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ता परेका छन्‌। यो कम्पनीको शेयरमूल्यमा ७.४९ प्रतिशतको गिरावट आउँदा प्रतिकित्ता ६१९.८० रुपैयाँमा झरेको छ।

अघिल्लो साताको अन्तिम कारोबार तुलनामा आज कारोबार रकम समेत खुम्चिएको छ। बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। आज भने २ अर्ब ८ करोड २७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जम्मा ३०९ कम्पनीको कूल ५५ लाख ७४ हजार २०७ कित्ता शेयर कारोबार भएको छ।

आज सोनपुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको १३ करोड २० लाख ४९ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:March 3, 2024