काठमाडौ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि बैंककै टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ । एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्ती गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
बैंकको निर्णयमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको उल्लेख छ।
गत पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्याक्रममा आचार्यले महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला आचार्यले दौडिएर ती उच्चपदस्थ महिला कर्मचारीलाई पछाडिबाट अंगालो हालेका थिए।
आचार्यले आफूमाथि दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि घटनाबारे राष्ट्र बैंक आफैँले छानबिन गरिरहेको थियो ।