काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विदेशमा पनि शाखा विस्तार गर्ने तयारीमा छ । हिमालयन रिइन्स्योरेन्सले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाएको छ । बहुप्रतिष्ठित रेटिङ एजेन्सी ‘एएम बेस्ट’बाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै कम्पनी विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको हो ।
ति देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुनेछ । केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै भारतबाट अन्दाजी १० अर्ब बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।
कम्पनीको हालै सम्पन्न तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमतासमेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ । कम्पनीले अपेक्षाअनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल हुनेछ ।