नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम कति

Nepal Cover
२ बैशाख २०८१, आईतवार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार झिनो अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिर्जनशिल लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड  रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।  

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १० करोड नाघेको छ।