May 13, 2024
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ ।
वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।
सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका हुन् ।
त्यस्तै ९ वटा बैंकले भने ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका हुन् । तीन वटा बैंकले भने ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका हुन् ।
जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।
अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएपछि बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।
यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दती खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
बैंक | वैशाख | जेठ |
एभरेस्ट | ७ | ६.५ |
लक्ष्मी सनराइज | ७ | ७ |
नबिल | ७.२५ | ६.७५ |
नेपाल | ६.७५ | ६.७५ |
इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
प्रभु | ७ | ७.५ |
सानिमा | ७.१ | ६.९ |
सिद्धार्थ | ७.२५ | ७ |
स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
एनएमबी | ७.९७ | ७.८ |
एनआईसी एसिया | ७.७५ | ७.८ |
हिमालयन | ७.५ | ७.५ |
ग्लोबल आईएमई | ७ | ७.५ |
कुमारी | ७.२६ | ७.२६ |
माछापुच्छ्रे | ७.२५ | ७.२५ |
सिटिजन्स बैंक | ७.५ | ७ |
प्राइम | ७.१ | ७ |
राष्ट्रिय वाणिज्य | ६.५५ | ६.४ |
नेपाल एसबीआई | ६.५३ | ६.३९ |
प्रकाशित मिति:May 13, 2024
November 23, 2024