May 20, 2024
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा हिंस्रक ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ। गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेका आरोपबारे जबाफ दिएका थिए। सो क्रममा गृहमन्त्रीले असत्य र कपोलकल्पित कुरा राखेको कांग्रेसको भनाइ छ।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री लामिछाने हिंस्रक ढंगले सदनमा प्रस्तुत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
‘हिजो गृहमन्त्रीजीले प्रतिनिधि सभामा जे कुरा बोल्नुभएको छ, त्यो यो असत्य, असभ्य, भ्रामक, कपोलकल्पित र हिस्रक ढंगले उहाँ प्रस्तुत हुनुभएको छ,’ उनले भने, ‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मानिसले अर्कालाई प्रश्न सोध्ने होइन, उहाँकामाथि उठेका प्रश्नको जवाफ दिने हो।’
गृहमन्त्री लामिछानेले अरूका बारेमा तथाकथित विषय उठाएको पनि उनले बताए। ‘अरूका बारेमा तथाकथित विषय उठाएर उहाँ आफूमाथि लागेको अभियोगबाट भाग्ने पर्यत्न गर्नुभयो,’ उनले भने, ‘गृहमन्त्रीका अभिव्यक्तिका प्रति घोर निन्दा र भर्सना गरेका छौं।’
उनले गृहमन्त्री लामिछानेले सदनमा दिएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइने पनि बताएका छन्।
‘कांग्रेसलाई लक्षित गरेर गृहमन्त्रीजीले जे-जे आरोप लगाउनुभएको छ त्यसमा निष्पक्ष, स्वतन्त्र छानबिन र अनुसन्धान गरेर प्रमाणित गर्न कांग्रेस खुला छ,’ लेखकले भने।
कांग्रेसले संसदीय छानबिन समिति आफूहरूको बटमलाइन भएको भन्दै विश्वास मत लिन आउनुअघि नै समिति बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
प्रकाशित मिति:May 20, 2024
November 24, 2024