राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिस्ट

  Sampatti News Online

May 20, 2024

काठमाण्डौँ। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि ५ जना उमेदवारहरु सर्टलिस्टमा परेका छन् । बैंकको सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।यी मध्ये देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओ छन् ।

साथै बैंकले प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरूका लागि प्रस्तुतीकरण र अन्तरवार्ता लागि समेत तोकेको छ । बैंकले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पाँच जना उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको छ ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुले अन्तरवार्तामा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण गर्नुपर्ने छ । यसैगरी, अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि छनोट भएका उम्मेदवारहरू आफूले पेस गरेका सम्पूर्ण सक्कल कागजात सहित आगामी जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा उपस्थित हुनु पर्नेछ ।

जसमध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीईओ पद रिक्त छ ।

प्रकाशित मिति:May 20, 2024