गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

  Sampatti News Online

May 22, 2024

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।

आन्दोलनस्वरुप भृकुटीमण्डपमा  पहिलो चरणमा शुक्रबार विरोध प्रदर्शन गरिने महामन्त्री गगन थापाले बताए। लामिछाने सहकारी ठगीमा जोडिएका र कार्यक्षेत्र रहेका चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने उनको भनाइ छ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।

सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ।

समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदलसमेत बनेको थियो। कार्यदलमा नेकपा ९एमाले० प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल थिए।

कार्यललको तीन चरणमा बैठक बसे पनि क्षेत्राधिकार टुंगो लागेको छैन। नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री नै मुछिएको भन्दै उनको नाम लेखेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।

एमाले र रास्वपाले भने गृहमन्त्री जोडिएको भनिएको बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको नाम अनुसूचीमा लेखेर जानुपर्ने बताएपछि कुरा मिल्न नसकेको हो।

संसदीय छानबिन समिति नबनाइ सत्तापक्षले पेलेरै सदन चलाएको भन्दै प्रतिपक्षी कांग्रेस रुष्ट छ।

प्रकाशित मिति:May 22, 2024