परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क ‘इन्ट्री’

अनियमितता गरेको शङ्का लागेपछि छानबिन समिति गठन

  Sampatti News

May 23, 2024


नेपालगन्ज । बाँकेको कोहलपुरमा परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क ‘इन्ट्री’ गरी गडबडी गर्नेहरुको अनुसन्धान सुरु गरेको हो ।
उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा अनियमितता पुष्टि भएको थियो ।
छानबिन समितिको प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तर पुस्तिका आफैँ परीक्षण गरेको, प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका अनियमितता फेला परेको थियो ।
प्रतिवेदनका आधारमा दोषी देखिएका १५ जना मध्ये १२ जनाको नाममा २०८१ जेठ १ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता भएको थियो ।
सोही अन्तर्गत पक्राउ पर्नेमा आभास विक्रम क्षेत्री, उमेश केसी, कुवेर ढकाल, शिक्षण सहजकर्ता रोमिना खत्री र रमेश कुमार थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
२०८० चैत २ गतेदेखि ९ गतेसम्म कक्षा ८ को परीक्षा सुरु भएको थियो भने चैत २३ गते नतिजा प्रकाशित भएको थियो ।
कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८६४ जना विद्यार्थीहरूले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति:May 23, 2024